गंगामाया भन्छिन्, मानव अधिकारवादीमाथिको विश्वास हट्यो

काठमाण्डौ, १४ चैत्र । छोरा मारिएपछि न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले मानव अधिकारवादीमाथिको विश्वास हटेको बताएकी छिन् ।

बुधबार वीर अस्पतालमा पत्रकारसंग कुरा गर्दै उनले अधिकारकर्मीले आएर आश्वासनमात्र दिएको भन्दै मानव अधिकारवादीमाथिको विश्वास हटेको बताएकी हुन् । उनले मानवअधिकार भएको देशमा मानवअधिकार भनाइमा मात्र सिमित मात्र रहेको गुनासो गरिन् ।

गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको भन्दै पेशीका नाममा मुद्धा अल्झाउन खोजिएको बताइन् । उनले छिटोभन्दा छिटो अपराधीलाई कानुनी कारवाही गर्नुपर्ने भन्दै आफ्नो अरु कुनै ईच्छा नभएको दुखेसो गरिन् ।

अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका बेला मृत्यु भएका गंगामायाको श्रीमान नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा राखिएको छ ।