Breaking News

अस्थायी शिक्षक परीक्षा रोक्न विद्यार्थीको माग

काठमाण्डौ, १४ चैत्र । विद्यार्थीहरूले अस्थायी शिक्षकलाई स्थायी गर्न चैत्र २३ गते तोकिएको परीक्षा स्थगन गर्न माग गर्दै शिक्षामन्त्रीको राजीनामासमेत माग गरेका छन् ।

विद्यार्थीहरूले बुधबार काठमाण्डौको माईतिघरमा विरोध प्रर्दशन गर्दै शिक्षा विभागले अस्थायी शिक्षकलाई स्थायी गर्न लिन लागेको परीक्षा स्थगन गर्न माग गरेको हो । साथै उनीहरूले जबर्जस्ती रूपमा परीक्षा लिन लागेको भन्दै शिक्षा मन्त्रीको राजीनामा मागसमेत गरेका हुन् ।

परीक्षामा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको भन्दै उनीहरूले खुल्ला प्रतिष्पर्धालाई सरकारले प्राथमिकता दिनुपर्ने मागसमेत राखेका छन् । दक्ष युवाहरूलाई बेवास्ता गर्दै आन्तरिक प्रतिष्पर्धालाई प्राथमिकता दिनु न्यायोचित नभएको उनीहरुको भनाइ छ ।

सरकारले शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन अनुसार अस्थायी शिक्षकलाई स्थायी गर्न परीक्षा लिन लागेको हो । विद्यार्थी संगठनहरू भने शिक्षा ऐनमा भएको नवौं संशोधन नै खारेज हुनुपर्ने माग राख्दै आन्दोलित छन् ।

यसैबीच अस्थायी शिक्षक ब्यवस्थापनका लागि चैत २३ गते तोकिएको परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षक सेवा आयोगले जनाएको छ । देशभरका पाँच जिल्लामा १ सय १६ परीक्षा केन्द्र तोकेकै दिन बुधबार आयोगले परीक्षाको तयारी सकिएको जनाएको हो ।

shares