अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, १४ चैत्र । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक ब्यवस्थापनका लागि चैत २३ गते तोकिएको परीक्षाको सम्पूर्ण तयारी पूरा भएकोे जनाएको छ ।

देशभरका पाँच जिल्लामा १ सय १६ परीक्षा केन्द्र तोकेकै दिन बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरेर आयोगले परीक्षाको तयारी सकिएको जनाएको हो । कानूनले गरेको ब्यवस्था अनुसार आफूहरू परीक्षा तयारीमा जुटेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

अस्थायी शिक्षकको तोकिएको परीक्षा सम्पन्न गरेपछि खुल्ला विज्ञापन गर्न आयोगले पहल सुरु गरेको गौतमले बताए । यसका लागि आवश्यक कानून निर्माणमा शिक्षा मन्त्रालयले तदारुकता देखाउने आफूले अपेक्षा गरेको उनको भनाइ छ ।

परीक्षामा कूल २३ हजार २ सय ८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौं संशोधनले गरेको ब्यवस्था अनुसार १५ हजार ६ सय ८९ जना शिक्षकले परीक्षा रोजेकोमा नवौं संशोधनले उक्त कोटा बढाएपछि थप ७ हजार ५ सय ९७ शिक्षकले परीक्षा दिन आवेदन गरेका थिए ।

शिक्षा ऐनको आठौं संशोधनमा भएको ब्यवस्था अनुसार पटक-पटक मिति तोकेर पनि परीक्षा गर्न नसकेको भन्दै आयोगको आलोचना हुँदै आएको छ ।