Breaking News

ढोंगीभन्दा जोगी बन्नु जाति

– संकेत कोइराला

एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसँग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासँग मागेर ल्याइदिउँ ?’
गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ भने मेरा भाइहरू त्यो सर्टका लागि मसँग झगडा गर्नेछन् ।’ बालकले फेरि थप्यो– ‘त्यसो भए तपाईंका भाइहरूलाई पनि एक एकवटा सर्ट दिउँला नि । कति भाइ छन् ?’
गान्धीले बालकलाई चुम्दै भने– ‘चार करोड ।’

भगवान रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य के ले बनायो ? उत्तर हाजिर छ– राजनीति । दक्षिण अफ्रिका देशभन्दा अघि मानिस नेशनल मण्डेला सम्झन्छन् । सहमत, असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् । चीन जाने जोसुकै होस् न, माओको मृत शरीरको परिक्रमा नगरी फर्किंदैन । आखिर किन ? राजनीतिप्रति उनीहरूको इमान्दार संकल्प । घर कि देश ? यी दुई रोज्ने परिस्थितिमा जन्मिएको माटोको हितका लागि यिनीहरूले परिवार त्यागिदिए । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् । देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ । दलाई लामासंग के छैन ? सबैथोक हुँदा पनि धर्ती नहुँदा उनको जीवन अपूर्ण छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ ।

मानिस आउनु जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्‍याउनु चाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो, अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । एकरातमा एउटा नाईट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन । यसका लागि आफूबाहेक सबै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नबिर्सौ, देश बनाउनु भनेको उच्च मनोबलको वृद्धि हो ।

जीवनबाट बिदा लिनुअघि रावणले रामलाई भनेका थिए– ‘उमेरमा म तिमीभन्दा पाको छु । ज्ञान र बलमा पनि अब्बल छु । तिम्रो सुनको घर, मेरो सुनको देश । तपस्या र क्षमतामा पनि कमजोर छैन । देशको आकार तिम्रोभन्दा ठूलो छ । सबै चीजमा उत्कृष्ट हुँदाहुँदै लडाईं जित्न सकिन । यसको एउटै कारण हो– तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ शत्रुसँग छ ।’

राजनीतिशास्त्रले भन्छ– ‘जनता कहिल्यै गलत हुँदैन ।’ तर जनता नै नमिल्ने अनौठो संस्कृति समाजमा उन्मत्त हुँदैछ । कसैले बोलेको कसैलाई पच्दैन । राजनीतिक रिङ बाहिर बसेकाहरूको प्रदूषणले राजनीतिका कलपूर्जामा खिया लागेको छ । खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्नेसम्मलाई सिंहदरबारको अनौठो तिर्खा छ । देश संघीयतामा गएर संघीय संरचना बनिसक्दा पनि पदाधिरीहरूलाई पाएको पदप्रति स्नेह छैन । देश बनाउने रोडम्यापभन्दा उनीहरूलाई सलामीको लोभ छ । मन्त्री भएपछि आदेश दिनुपर्छ भन्ने असफल राजनीतिक डक्टिनबाट ग्रसित तिनीहरू ठाडो बिजुलीको पोललाई पनि आदेश फर्माउन आतुर छन् । जनताको आम्दानी स्रोत सुक्दै जाँदो छ । घरखेत बाँझा छन् । डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन् । एउटा गाउँ नगरपालिकामा अनुवाद भएका छन् । गाउँ समिति हुँदा पचास रूपियाँमा तमाम् हुने काम अहिले रातारात पाँच हजार पुर्‍याइएको छ । मन्त्रीहरू सिपाहीसँग कुम जोडेर भात खाने, जनप्रतिनिधिहरू कुस्तीमा उत्रिने पूर्वाभ्यासमा उत्रिएका छन् । काम गर्ने सल्लाहमा विमति भएर नभई बाँडफाँडमा कुरा नमिलेर रस्साकस्सीका समाचार बाक्लै सुनिन पढिन थालेका छन् । उत्साहबिना संसारमा कहाँ पो विकास भएको छ र ?

एउटा प्रसंग आफन्तीको । आफन्तीको घर पुगेर राजा सोध्न थाले–
‘तेरो कति जग्गा छ मलाई देखा ?’
आफन्तीले जवाफ दियो– ‘मेरो सम्पूर्ण जग्गा साहुको कब्जामा छ ।’
तेरो अन्नको भण्डार कहाँ छ नि ? त्यो पनि सबै हजुरकै दरबारमा पुगिसकेको छ । अनि तेरो घरको छानो खोइ ? त्यो पनि साहुले लग्यो । तेरो घरको फर्निचर ? हजुरकै हाकिमले उठाएर लग्यो । तेरो छोरा कहाँ छ नि ? जिल्ला अधिकारीको अत्याचारले मर्‍यो । अनि तेरी स्वास्नी खोइ ? हजुरले देखेमा मन पराइबक्सेला भन्ने डरले त्यो भर्खर लुक्न गई । आफन्ती तेरा प्रत्येक संवाद झूठा हुन् । मसंग यसरी झूठो बोल्ने साहस कसरी गरिस् ? अन्त्यमा आफन्तीले हिम्मत जुटाएर बिन्ती गर्‍यो– ‘सरकार ! यी सबै कुरा सही र सत्य हुन् । यदि मैले झूठो बोलेको भए, हजुरलाई यसरी रिस उठ्ने नै थिएन ।’

पात्र फेरिए पनि आफन्तीले भोगेको नियति सक्कल बम्मोजिम नक्कल उस्तै छ । एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरू केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसँगै ओहोदा सामर्थ्य हेरेर मानिसहरू भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आफूले गर्ने ढाडस दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने वचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानूनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको कामसमेत शुभलाभबिना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । कर्मचारीहरू सेवाग्राही चिन्दैनन्, विचौलिया चिन्छन् ।

राजा त्रिभुवनलाई त्रास देखार्इ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रूपमा अवतरण गराई एक दशकबीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । पछिल्लो समय हेर्ने हो भने ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत ट्रेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानूनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् । बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, आफैं अनुमान लगाउन सक्नुहुन्छ ।

कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर विचित्र छ । जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरूको बस्तीमा आगो झोस्न सक्छ । तर यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेेदेखि बोतलको समावेशी झोलसमेत अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु र ? नेताहरूको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरूले देशमा फौजी निकायको संख्या लाखौं पु¥याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालीन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो । भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी दमदार देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ । सांसदहरू हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरूमा आएन । फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरूको हात शीर्ष नेताहरूको गालामा पुग्दा पनि उनीहरूको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन । कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरूलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन् ।

गणतन्त्रपछि त राजनीतिक दुश्चक्र साँच्चै कहालिलाग्दो छ । देशका कार्यकारी पद नेताका हुक्के, ढोके, चम्चेलाई जागिर लगाउने ठाउँ भएका छन् । एसएलसी गान्धी डिभिजनमा पास हुन नसकेर प्राथमिक विद्यालयको शिक्षकसम्म हुने हुति नभएकाहरू नेताहरूको झोला बोकेको र ढुंगा हानेको ज्यालास्वरुप शिक्षामन्त्री भएका छन् । पुलिसको सिपाहीमा फालिएकाहरू गृहमन्त्री भएर टप्किएका छन् । संसदजस्तो गरिमामय ठाउँलाई रणमैदान बनाउने ‘बुल फाइटरहरू’लाई छानीछानी मन्त्री बनाइएको छ । सेना समायोजनमा कर्नेल नपत्याइएका नन्दकिशोर देशको दोस्रो भीभीआईपी बनाइए । माओवादी नेताका पति पत्नी पालो गरीगरी मन्त्री भएका छन् । मानौं मन्त्री पद बच्चालाई फकाउने चिची पापा जत्तिक्कै सस्तो हो ।

जात, धर्म, लिंग कसैले निवेदन दिएर पाएको वस्तु होइन । त्यो प्रारब्ध हो । आफ्नो लगानीबिनाको वस्तुमा गौरव गर्नु पाखण्ड हो । तर मुलुकको अनुहार झल्किने त्यो ठाउँमा योग्य मानिस हैन, महिला, जनजाति, मधेशी, अपाङ्ग पुर्‍याएकोमा गौरव गरिरहेका छौं । १९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ डलर हुँदा चीनको प्रतिव्यक्ति आय २५० डलर थियो । अहिले त्यही चीनबाट पठाएका थाङ्ना फोगटाले आङ ढाक्न नपुगेर चीनको तुरुप प्रयोग गरी फेसबुकमा भारतलाई धम्क्याइरहेका छौं । यसरी धम्क्याउनुअघि चीन र भारतबीच झण्डै एक खर्ब डलरको व्यापारिक सम्झौता छ भन्ने सत्यसंग थोरै परिचित भइदिए कति गुन लाग्थ्यो ।

जो शक्तिमा पुग्यो उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने यही मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं । एमाले, काँग्रेस, माओवादी जस्ले जतिसुकै फूटानी लाएपनि देशको सक्कली अनुहार तथ्यांकले देखाउने हो । कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन । कांग्रेस इतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरू सत्तारुढ छन् । सत्ताबाहिर जानासाथ कांग्रेसले अब लोकतन्त्रमा झुसिलकिराको प्रवेश देख्न थालिसकेको छ । यी दुवै प्रवृत्तिले लोकतन्त्रको मर्म बोक्दैन । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरैभन्दा थोरै गुनासोको अवसर दिन्छ ।

अलेक्जेण्डर ग्राहम बेलकी पत्नी कान नसुन्ने थिइन् । आफ्नी पत्नीलाई कान सुन्ने बनाउन उनले यन्त्रको आविष्कार गर्न भगिरथ प्रयास गरे । पत्नीको कान खुलाउन त सकेनन बरु उनले टेलिफोनको आविष्कार गरेर विश्वमा चर्चा बटुले । स्कटल्याण्डमा जन्मिएका उनको क्यानाडामा मृत्यु भयो । उनको मृत्यु हुँदा विश्वका अधिकांश ठाउँमा एक मिनेट टेलिफोन सेवा बन्द गरिएको थियो । आफन्तका लागि काम गर्दा यसरी सम्पूर्ण मानव सेवा गर्न सकियो भने त्यसले दिने आनन्दबाट मुक्तिको बाटो आफैं खुल्छ ।

प्रतिक्रियाका लागि: sanketkoirala07@gmail.com

यो पनि पढ्नुहोस्-

लडाईं माडको कि जाँडको ?

मेकअप रोज्ने कि ब्रेकअप ?

महेन्द्रमालासँग हारेको प्रचण्डमाला

shares