Breaking News

प्रतिपक्षको भावनालाई उच्च मुल्याङ्कन गरिन्छ: राष्ट्रियसभा अध्यक्ष

काठमाण्डौ, १४ चैत्र । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिपक्षको भावनालाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै तिमिल्सिनाले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेका हुन् । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ठूलोको सवाल नभई जति सानो संख्या भएपनि प्रतिपक्षको भावनालाई उच्च मुल्याङ्कन गरिने उनले बताए ।

उनले राष्ट्रियसभाका हरेक विषयमा प्रतिनिधिसभा कुरेर नबस्ने भन्दै समान हैसियत भएकाले राम्रो नतिजाका लागि प्रतिस्पर्धा गरेर काम गर्ने बताए । उनले राष्ट्रियसभाले मतदाताप्रति उत्तरदायी बन्न स्थानीय तह र प्रदेशसभाका समस्यालाई प्रखर रूपमा उठाउने उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहले कानून नपाएर काम गर्न नपाएको अवस्थालाई दृष्टिगत गरी प्राथमिकीकरण गरेर कानून निर्माण गरिने जानकारी पनि दिए । उनले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेद्वारी दिनुअघि नै आफूले एमालेको साधारण सदस्यसमेतबाटै राजीनामा दिएको कुरासमेत जानकारी दिए ।

त्यस्तै उनले जनप्रतिनिधिका आवाज जनताले थाहा पाउने ढंगबाट राष्ट्रियसभाका गतिविधिसम्बन्धी समाचार सम्प्रेषण गर्न आग्रह पनि गरे ।

shares