Breaking News

ईयूको प्रतिवेदन नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी

काठमाण्डौ, १४ चैत्र । संयुक्त खस क्षेत्री नेपाल र क्षेत्री समाज राष्ट्रिय महासंघले ईयूको प्रतिवेदन नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर महासंघले ईयूको प्रतिवेदन राष्ट्रिय अखण्डता र सार्वभौम नेपालको राजकीय सत्तामाथिको नाङ्गो प्रहार भएको भन्दै यस्तो चेतावनी दिएको हो ।

संयूक्त खस क्षेत्री नेपालका अध्यक्ष मानबहादुर थापाले राष्ट्र र राष्ट्रियताका बारेमा सम्पूर्ण नेपालीहरू एक भएर लड्नुपर्ने बताए । आजको दिनसम्म आउदा ईयूले धेरै किसिमका अराजकता देशमाथि थोपरेपनि अब भने सहेर नबस्ने उनको भनाइ छ ।

थापाले संविधानको अनुसूचिमा नेपालका सबै जातजातिको संख्या र प्रतिशतसहित पहिचान कायम गर्नुपर्ने, आधुनिक नेपालको एकीकरण हुनुभन्दा पहिलेदेखि नेपालमा बसोबास गर्दै आएका खस क्षेत्री तथा सबै जातजातिका समुदायलाई मूल आदिवासीको सूचीमा सूचिकृत गर्नुपर्ने मागसमेत राखे ।

महासंघले वर्गीय आरक्षणको व्यवस्था गर्नुपर्ने, खस क्षेत्री राष्ट्रिय आयोग गठन गर्नुपर्ने, २०६३ सालपछि वितरण गरिएका नागरिकताको बारेमा छानबिन गर्नुपर्ने र संविधानबाट धर्मनिरपेक्षता हटाउनु पर्ने लगायतका माग अघि सारेको छ ।

shares