Breaking News

भीरमा लगाएको आगो सल्किएर एक घर जल्यो, १२ लाख बराबरको क्षति

ताप्लेजुङ, १४ चैत्र । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुस्थित सोगिरा भीरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा एक घर जलेर नष्ट भएको छ । आगलागीले स्थानीयवासी चन्द्रबहादुर कार्कीको घर जलेर पूर्णरूपमा नष्ट भएको हो ।

करिब दुई सय मिटर मुनि रहेको सोगिरा भन्ने भीरमा स्थानीयवासीले लगाएको आगोको झिल्का फैलिएर छानामा पुगेपछि घरमा आगलागी भएको छिमेकी मनकुमारी कार्कीले जानकारी दिइन् ।

आगलागीले तीनतले टिनको छानो भएको घर र घरभित्र राखिएकोे ठूलो परिमाणको काठ, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जल्दा करिब रु १२ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । आगालागी पीडित परिवार भने अर्कै घरमा सरेर बसेका छन् ।

भीरमा आगो लगाउने व्यक्तिले भने जानजान आगो नलगाएको भन्दै क्षति बेहोर्ने वचन दिएको पीडित परिवारले बताएका छन् । पछिल्लो तीन महिनामा मात्रै ताप्लेजुङमा दर्जनौं घर जलेर नष्ट भएका छन् । -रासस

shares