Breaking News

रौतहटमा अागलागी, ५ वटा पसल पूर्ण रूपमा नष्ट

प्रविण टिबडेवाल/रौतहट, १४ चैत्र । रौतहटको चन्द्रपुर नगरपालिका ६ स्थित बजार चोकमा रहेको एक घरमा भीषण आगलागी भएको छ ।

बिहान करिब ५ बजे लागेको सो आगोले उग्र रूप लिएपछि मात्र करिब ७ बजे स्थानीयले आगलागीबारे जानकारी पाएका थिए । आगलगीले भीषण रुप लिएपश्चात रौतहटको चन्द्रपुर नगरपालिका, गौर नगरपालिका त्यस्तै सर्लाहीको विभिन्न नगरपालिकाका ५ वटा वारुण यन्त्र तथा स्थानीय बासिन्दा र प्रहरीको सहगोगमा ३ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ ।

चन्द्रपुर ६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर रहेको घरमा आगलागी हुँदा सोही भवनमा संगै रहेको ५ वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीको कारणबारे यकिन हुन नसकेपनि विद्युत सर्टसर्किटबाट आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय घरधनी सुनिल साहको घरमा ३५ लाख, मोतिपुरका प्रविण राखेचाको हार्डवेयर पसलमा ८५ लाख, हरिनारायण चौधरीको टिभी पसलमा १ लाख ३५ हजार, सुनिल चौधरीको मोबाईल पसलमा ७० हजार र मनोज पटेलको कपडा पसलमा करिब ४ लाख गरी कुल १ करोड ३० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

shares