Breaking News

पारिश्रमिक माग्दा वडाध्यक्षको हातबाट खाए कुटाइ

बाजुरा, १४ चैत्र । जगन्नाथ गाउँपालिका–६ का वडाध्यक्ष कटकबहादुर विष्टले स्थानीय एक व्यक्तिलाई कुटपिट गरेका छन् ।

स्थानीय लघु जलविद्युत् आयोजनामा काम गरेको ज्याला माग्दा स्थानीय मनबहादुर विष्टलाई कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका कटकबहादुरले अाफूलाई निर्घात कुटेको मनबहादुरले बताए ।

‘गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय बितिसक्दा पनि पारिश्रमिक पाइनँ’, उनले भने, ‘ज्याला माग्न जाँदा वडाध्यक्षले गोठमा लगी हातखुट्टा बाँधेर कुटपिट गरे ।

वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते मनबहादुरलाई उपचारका लागि जिल्ला सदरमुकाम मार्तडी लगेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

मनबहादुरले मदिरा खाएर गालीगलौज गरेकाले हातखुट्टा बाँधेको तर कुटपिट नगरेको वडाध्यक्ष कटकबहादुरले बताए । -रासस

shares