Breaking News

किम जोङ उन सुटुक्क चीन पुगी सी जिनपिङलार्इ भेटेको पुष्टि

काठमाण्डौ, १४ चैत्र । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गोप्य रूपमा भेटघाट गरेको खुलेको छ ।

किम सुटुक्क चीन गएको कुरा चिनियाँ सरकारी समाचार सेवा सिन्ह्वा र उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले पुष्टि गरेका हुन् ।सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता किमको यो पहिलो विदेश भ्रमण हो ।

सिन्ह्वाले किम र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटघाट भएको उल्लेख गरेको छ । सी जिनपिङसँगको भेटका क्रममा किमले प्रमाणु शक्ति घटाउने प्रतिबद्धता जनाएको पनि बुझिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार सेवा केसीएनएले किमको चीन यात्रालाई ऐतिहासिक भएको विश्लेषण गरेको छ । अमेरिकासँग वार्ताको तयारीमा रहेको उत्तर कोरियाले चिनियाँ राष्ट्रपतिलगायतका उच्च राजनीतिक नेतृत्वसँग गरेको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अघिल्लो महिना दक्षिण कोरियाको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ताको लागि तयार भएका थिए । यद्यपि, चीन उत्तर कोरियाको सबैभन्दा ठुलो सहयोगी मुलुक भएकोले पनि उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नुअघि किम चीन जानसक्ने विश्लेषकहरूले अड्कल काटेका थिए । अन्ततः विश्लेषकहरूको उक्त अनुमान सही सावित भएको छ ।

shares