प्रधानमन्त्री ओलीले सन् २०१९ मा पानीजहाजको उद्घाटन गर्ने

काठमाण्डौ, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा पानीजहाजको उद्घाटन गर्ने बताएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार राष्ट्रिय युवा परिषद्का पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री ओलीले पानीजहाज किनेर समुन्द्रमा नेपाली झण्डा फहराउने बताए । उनले नेपालमा रेल यातायातका लागि पनि काम अघि बढिरहेको भन्दै छिट्टै नेपालमा रेल गुड्ने समेत बताए ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई भ्रष्टाचारमुक्त बनाएर आर्थिक समृद्धितर्फ लैजान प्रतिवद्ध रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले आगामी शैक्षिक सत्रदेखि विद्यालय जाने उमेर पुगेका विद्यालय बाहिरै रहेका एक विद्यार्थीलाई भर्नाका लागि विद्यालय पुयाउने गरी योजना ल्याउन लागेको उल्लेख गरे ।

तराईमा अशिक्षा बढी रहेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि तराईको कुनै गाँउको एक बालक वा बालिकालाई विद्यालय भर्नाका लागि लैजाने प्रतिवद्धता जनाए ।

उनले दीगो विकास लक्ष्य प्राप्तिका लागि पूर्ण साक्षर नेपाल बनाउने लक्ष्यमा नेपाल अगाडि बढ्ने धारणा राखे । प्रधानमन्त्री ओलीले बैशाख ५ गते देशव्यापी रूपमा भर्ना अभियान सञ्चालन गर्ने जानकारी पनि दिए ।