जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामाना गर्नेसम्बन्धी कार्यक्रमको ढाँचा सार्वजनिक

काठमाण्डौ, १३ चैत्र । जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामाना गर्नेसम्बन्धी कार्यक्रमको ढाँचा सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले नेपालमा हरित जलवायु कोष तयारी कार्यक्रमसँग सम्बन्धित ‘जलवायु परिवर्तन वित्तीय ढाँचा’, ‘ग्रीन क्लाइमेट फन्ड’ र जलवायु वित्तसम्बन्धी शब्दावली नामक प्रकाशन सार्वजनिक गरेको हो ।

नेपालजस्तो अतिकम विकसित देशहरू जलवायु परिवर्तनको व्यापक प्रभाव परेको र त्यसलाई सामना गर्न आवश्यक पर्ने बजेट विनियोजन गर्ने कार्यलाई सहज तुल्याउने तरिकाका विषयमा प्रकाशनमा समेटिएको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव एवं अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख केबलप्रसाद भण्डारीले नेपालले राष्ट्रिय जलवायु वित्तका मार्गमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले जलवायु परिवर्तनबाट प्रभावित गरिब एवं असुरक्षित जनताका सहायताका लागि कार्यक्रम बनाउन कार्यादेश गर्न प्रकाशित प्रकाशनले सहयोग गर्ने बताए ।

सरकारले जलवायु हस्तक्षेपका लागि नियमित सेवा प्रवाह गर्ने राष्ट्रिय इकाइलाई एकीकृत गरी जलवायु बजेट संकेतलाई राष्ट्रिय बजेटमा व्यवस्थित गरिसकेको छ । जसअनुसार जलवायु बजेट संकेतले जलवायुका ११ मापदण्डअनुसार अतिसान्दर्भिक, सान्दर्भिक तथा तटस्थ गरी विभाजन गरेको छ ।