फोर्ब्सको ‘३० मुनिका ३०’ प्रभावशाली उद्यमीको सूचीमा २ नेपाली महिला

काठमाण्डौ, १३ चैत्र । विश्वविख्यात फोर्ब्स म्यागजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ सूचीमा दुई नेपाली महिला उद्यमी पनि परेका छन् ।

३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियाली युवा उद्यमीहरूलाई समेटेर प्रकाशित गरिएको सूचीमा सामाजिक उद्यमशीलता विधाअन्तर्गत नेपालका आयुषी केसी र कञ्चन अमात्य छनोटमा परेका हुन् ।

केसी फोहोर व्यवस्थापनमा क्रियाशील ‘खालीसीसी डट कम’ की संस्थापक हुन् । खालीसीसीले पुनःप्रयोग गर्न मिल्ने फोहोरको व्यवस्थापनमा योगदान दिएकाले सूचीमा राखिएको फोब्र्सले जनाएको छ । नेपालमा जिरो-वेष्टतर्फ काम गरेर संसार बदल्न खोजिरहेकी भन्दै केसीलार्इ फोर्ब्सको प्रोफाइलमा पूर्व यूएसएआइडीकी कर्मचारीबाट सामाजिक उद्यमी बनेकी केसीले खालीसीसी म्यानेजमेन्ट प्राली स्थापना गरी अहिले १३ सय जना कवाडी संकलनकर्ताहरूलार्इ रोजगारी दिइरहेको उल्लेख गरेको छ ।

त्यस्तै, अमात्य ‘दिगो माछा खेती अभियान’ नामक संस्थाकी अभियन्ता एवं उद्यमी रहेकी अमात्यको प्रोफाइलमा उनको संगठन दिगो जलीयकृषिमार्फत खाद्य असुरक्षा र गरीबीको समाधानमा केन्द्रित रहेको र ग्रामीण महिलाहरूलाई वित्त, प्रविधि, स्थानीय साधन र तालिम प्रदान गरेर आफ्नै साना उद्यम सञ्चालन गर्न यसले सक्षम बनाउने उल्लेख छ ।

अमात्यको कामलाई अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र संयुक्त राष्ट्रसंघले पनि प्रशंशा गरेका थिए । उनले महिलाको आर्थिक शशक्तिकरणका लागि राष्ट्रसंघीय ग्लोबल च्याम्पियनका रूपमा पनि काम गर्छिन् ।

दुवै महिलाले आउँदो जुलाईमा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् । सम्मेलनमा सहभागी हुनेले नेटवर्किङ तथा लगानी जुटाउने अवसरका साथै एक-अर्काको अनुभव आदानप्रदान गर्न पाउनेछन् ।