शिक्षा ऐन नवौं संशोधन खारेज हुँदैन: मन्त्री पोखरेल

काठमाण्डौ, १३ चैत्र । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐन नवौं संशोधन खारेज हुन नसक्ने स्पष्ट पारेका छन् ।

मंगलबार सिंहदरबारमा संयुक्त विद्यार्थी संगठनले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री पोखरेलले संसदबाट पारित भइसकेको विषयलाई सरकारले खारेज गर्न नसक्ने बताएका हुन् । यद्यपी मन्त्री पोखरेलले शिक्षा ऐनभित्र रहेका केही त्रुटीहरूलाई सच्चाउन सरकार तयार रहेको बताए ।

उनले शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन बमोजिम आन्तरिक विज्ञापनतर्फ चैत्र २३ गते तोकिएको परीक्षा तत्काल स्थगित गर्न पनि कठिनाई रहेको धारणा राखे । उक्त परीक्षामा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको छ ।

मन्त्री पोखरेलले ५१ प्रतिशत खुल्ला प्रतिष्पर्धालाई २५ प्रतिशतमा सिमित गर्ने निर्णय त्रुटिपूर्ण रहेको भन्दै आफ्नो समर्थन नरहने उल्लेख गे । उनले विद्यार्थीहरूको मागलाई उचित ढंगले सम्बोधन गर्न वार्ता समिति गठन गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरूले शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन राष्ट्रको हितमा नरहेकोले तत्काल खारेज गर्न माग गरेका छन् । त्यस्तै आन्तरिक विज्ञापनतर्फ चैत्र २३ गते तोकिएको परीक्षा तत्काल स्थगित गर्न पनि माग गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

स्थायी शिक्षक ब्यवस्थापनका लागि शिक्षा ऐन नवौं संशोधनमा भएको ब्यवस्थाको विरोध गर्दै आएका विद्यार्थीले शिक्षक पदपूर्तिका लागि तत्काल खुल्ला विज्ञापनको माग गर्दै शिक्षा मन्त्री पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।