काठमाडौंका ट्राफिक लाइट अाजबाट पुनःसञ्चालनमा

काठमाण्डौ, १३ चैत्र । लामो समयदेखि बल्न छाडेका काठमाडौंका ट्राफिक लाइट पुनःसञ्चालनमा ल्याउने अभियान मंगलबार सुरु गरिएको छ ।

सडक विभाग, काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाका संयुक्त प्रयासमा महाराजगञ्ज र नयाँबानेश्वर चोकमा ट्राफिक लाइट बाल्न सुरु गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ बानेश्वरबाट अभियानको सुभारम्भ गरे । बानेश्वर चोकमा सडक विभाग र महाराजगञ्ज चोकमा महानगरपालिकाले ट्राफिक लाइटको मर्मत गरेर चालू गरिएको हो ।

अहिले नेपाली प्राविधिकले जडान गरेको ट्राफिक लाइट रिमोटबाट पनि सञ्चालन गर्न सकिने खनालले जानकारी दिए । नयाँ बानेश्वरको तुलनामा महाराजगञ्जमा जडान गरिएको ट्राफिक लाइट अत्याधुनिक भएको र सफल भए अन्य स्थानमा पनि क्रमशः जडान गर्दै लैजाने खनालले बताए ।

हाल केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत चोकहरूमा अझै पनि पुराना ट्राफिक लाइट अलपत्र अवस्थामा छन् । ट्राफिक लाइट सञ्चालनमा नआउँदा सर्वसाधारण घण्टौ जाममा बस्न बाध्य छन् ।