Breaking News

काठमाडौंमा कार्यरत प्रहरीले प्रत्येक महिना रू ५० हजारसम्म पुरस्कार पाउने

काठमाण्डौ, १३ चैत्र । काठमाडौं जिल्लामा कार्यरत प्रहरीले प्रत्येक महिना ५० हजार रूपैयाँसम्म नगद पुरस्कार पाउने भएका छन् ।

उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना प्रहरीलाई प्रत्येक महिना नगद पुरस्कार दिनेगरी मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बंगलादेश बैंकबीच सहमति भएको हो । परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनाका दरले छ जनालाई नगदसहित पुरस्कृत गर्न लागेको हो ।

पुरस्कारका लागि बंगलादेश बैँकले परिसरलाई रू १८ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । पुरस्कारको राशी जवानलाई रू दश हजार, प्रहरी हवल्दारलाई रू १५ हजार, प्रहरी सहायक निरीक्षकलाई रू २० हजार, प्रहरी नायब निरीक्षकलाई रू २५ हजार, प्रहरी निरीक्षकलाई रू ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई रू ५० हजार रहेको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेल र बैँकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा परिसरका प्रमुख पोखरेलले यस्तो सहयोगले प्रहरीलाई कार्यसम्पादन गर्न थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।

उनले हरेक महिना छ जनाका दरले एक वर्षमा ७२ प्रहरीलाई पुरस्कृत गर्न लागिएको जानकारी दिए । अहिले महानगरीय प्रहरी परिसरअन्तर्गत तीन हजार तीन सय प्रहरी कर्मचारी कार्यरत छन् ।

shares