अनेरास्ववियु(क्रान्तिकारी)द्वारा ९ बुँदे संघर्षको कार्यक्रम घोषणा

काठमाण्डौ, १३ चैत्र । शैक्षिक क्षेत्रको सुधारका लागि भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले ९ बुँदे संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई मंगलबार काठमाण्डौमा सार्वजनिक गर्दै सो संगठनले सर्घषका कार्यक्रम घोषणा गरेको हो । नवनिर्वाचित अध्यक्ष चिरञ्जीवि ढकालले अहिलेसम्मका हरेक राज्यसत्ताले जनताको मौलिक हकको रूपमा रहेको शिक्षालाई केही शैक्षिक दलाल र माफियाको स्वार्थमा परेर निजीकरण गर्दै नागरिकलाई शिक्षा महंगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको आरोप लगाए ।

त्यसको सट्टा वैज्ञानिक शिक्षा प्रणाली देशमा लागू गराउन अखिल क्रान्तिकारीको नेतृत्वमा सम्झौताहीन शैक्षिक आन्दोलन सुरु गर्ने निर्णय भएको उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य नागरिकको मौलिक अधिकारको रूपमा वर्तमान सरकारले आफ्नो संविधान लेखिएपछि व्यवहारमा व्यापार गरेको बताउँदै त्यसविरुद्ध सशक्त आन्दोलन छेड्ने उनले बताए ।

पत्रकार सम्मेलनमा वितरित घोषणा पत्रअनुसार चैत १४ देखि २४ गतेसम्म देशव्यापी रूपमा सरोकारवालासँग छलफल र अन्तर्क्रिया संचालन गर्ने, चैत २५ गते शिक्षा मन्त्रालयदेखि तल्लो तहसम्मका शैक्षिक र सम्बन्धित निकायहरूमा मागपत्र बुझाउने र चैत २७ गतेबाट चरणबद्ध शैक्षिक आन्दोलन कार्यक्रमहरू संचालन गर्ने जनाइएको छ । सार्वजनिक कार्यक्रमअनुसार चर्को शुल्क लिने र वर्षेनि भर्ना गराउने विद्यालय निजी विद्यालयलाई बढी निशानमा राखिने जनाइएको छ ।