राष्ट्रियसभा बैठक: खस्कँदो शेयर बजारबारे अर्थमन्त्रीसँग मागियो जवाफ

काठमाण्डौ, १३ चैत्र । शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको राष्ट्रियसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अर्थमन्त्रीका भाषणले शेयर बजारमा भइरहेको गिरावट भइरहेको भन्ने कुरा आएको भन्दै यसमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए । अर्थमन्त्रीको अभिव्यक्तिका कारण शेयर लगानीकर्ताको बिजोग भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा बैठकमा एमालेका शेरबहादुर कुवँर, माओवादीका रामनारायण बिडारीलगायतले युरोपेली युनियन ईयूले निर्वाचन पर्यवेक्षणका नाममा दिएको निर्देशनप्रति आपत्ति जनाएका थिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा निर्वाचन ऐन अध्यादेश २०७४ पेश गरेका थिए । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पेश गरे ।

राष्ट्रियसभाको अर्को बैठक चैत्र १६ गते बस्नेछ ।