प्रधानमन्त्रीले सुनाए कुटनीतिज्ञलार्इ सरकारका ६ प्राथमिकता

काठमाण्डौ, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर दिवाभोजसहितको कार्यक्रम राखी आफ्नो सरकारका ६ प्राथमिकताबारे ब्रिफिङ गरेका छन् ।

ओलीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडासहितको उपस्थितिमा सम्बोधन गरेका थिए । कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरूसँगको छलफलमा सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै उनले आफ्नो सरकारका ६ प्राथमिकता सुनाएका थिए ।

सम्बोधनमा प्रधानमन्त्री अोलीले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरुको संरक्षण भएको बताए ।उनले आफ्नो सरकारको मुख्य प्राथमिकता राष्ट्रियता भएको उल्लेख गर्दै त्यसमा कसैसँग कुनै सम्झौता नहुने बताए ।

सरकारको दोस्रो प्राथमिकतामा लोकतन्त्र र मौलिक स्वतन्त्रताप्रतिको प्रतिवद्धता, तेस्रोमा सामाजिक न्याय र समानता, चौथोमा स्थायित्व, प्रगति र विकास, पाँचौंमा सुशासनप्रतिको प्रतिवद्धता र छैटौंमा दिगो विकास रहेको प्रधानमन्त्रीले बताए । उनले सरकारका यी प्राथमिकतामा सहयोग पुर्याउन निजी क्षेत्र र अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे ।

त्यसैगरी, ओलीले पञ्चशील, असंलग्नता, राष्ट्रसंघीय चार्टर, अन्तराष्ट्रिय कानून र विश्व शान्तिको मान्यता नेपालको परराष्ट्र नीतिको आधार रहेको बताए । छलफलपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पारस्परिक विश्वास छिमेक सम्बन्धको मुख्य आधार हुने प्रधानमन्त्रीले बताएको जानकारी दिए । मुख्य शक्ति राष्ट्र र विकासका साझेदारहरूसँग द्विपक्षीय सम्बन्ध थप विस्तार गर्ने ओलीले बताएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तराष्ट्रिय समुदायलाई ब्रिफिङ गर्न छलफल कार्यक्रमको आयोजना गरेका हुन् । परराष्ट्र मन्त्रालयको संयोजनमा आयोजित कार्यक्रममा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरू संस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।