प्रधानमन्त्रीको भारत भ्रमण र पार्टी एकताको विषय फरक: रिमाल

काठमाण्डौ, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय नभइसकेको भन्दै चैत्रको अन्तिममा भ्रमण हुने गरी परराष्ट्रमन्त्रालयले तयारी गरिरहेको जानकारी दिए । उनले नेपाल र भारतको परराष्ट्र मन्त्रालयको सहमतिमा भ्रमणको मिति तय हुने बताए ।

रिमालले प्रधानमन्त्रीको भारत भ्रमण र पार्टी एकताको विषय फरक फरक भएको भन्दै यसलाई जोडेर हेर्न आवश्यक नरहेको उल्लेख गरे । पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि बुधबार एकता समितिमा छलफल हुने र एकताको मिति टुङ्गो लगाइने उनले जानकारी दिए । त्यस्तै, रिमालले एकताका लागि एमाले तयार रहेको बताए ।

यसअघि प्रधानमन्त्री ओली यही चैत्र २३ गतेदेखि ३ दिन भारत भ्रमणमा जाने र त्यसभन्दा अघि नै माओवादी र एमालेबीच एकता हुने चर्चा चलेको थियो । भारत भ्रमणपछि प्रधानमन्त्री ओलीले बैशाखमा चीन भ्रमणमा जाने तयारी गरेका छन् ।