कांग्रेस बैठक निर्वाचनको समीक्षामै केन्द्रित

काठमाण्डौ, १३ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनको समीक्षामै केन्द्रित रहेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा केन्द्रीय सदस्यहरू बद्री पाण्डे, धनराज गुरुङ, हसन अन्सारी लगाएतले धारणा राखेका छन् । बैठकमा पाण्डे र गुरुङले चुनावमा पराजय हुनुमा सभापतिको मुख्य कमजोरी रहेको बताएका थिए ।

सरकारको नेतृत्वमा रहँदा गरेका गलत कामका कारण कांग्रेसले चुनावी परिणाम आफ्नो पक्षमा पार्न नसकेको उनीहरूको धारणा छ । कांग्रेस सुधार्नका लागि माथिल्लो तहबाट थालनी हुनुपर्ने धारणा समेत बैठकमा आएको छ ।

वाम गठबन्धनलाई प्रतिवाद गरेर जान नसक्दा पार्टीले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको धारणा पनि बैठकमा आएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । बैठकले पराजयको समीक्षापछि ठोस निष्कर्ष निकाल्दै पार्टी एकताबद्ध भएर अघि बढ्ने सन्देश दिने प्रवक्ता शर्माको भनाइ छ ।

निर्वाचनको समीक्षा गर्न भन्दै चैत ९ गतेदेखि कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको थियो । बैठकमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष चुनावमा पराजय हुनुको दोष एकअर्कालाई लगाएर आलोचनामा उत्रिएका छन् ।