Breaking News

पानीको बोतलमा लेदो भेटियो, अनुगमन गर्ने निकाय भन्छ- फुर्सद छैन

सिरहा, १२ चैत्र । स्वाथ्य क्षेत्रको संवेदनशील क्षेत्र मानिने पानी नै खराब भएपछि कसरी हामी स्वस्थ हुन्छौ? तर यस्तै भएको छ सिरहामा । शुद्ध पिउने पानीको नाममा प्रशोधन गरी विभिन्न नामको बोतलमा अशुद्ध र दुषित पानी बजारमा छ्याप्छ्याप्ति पाइन्छ ।

सिरहा नगरपालिका ८ महिसोथा र चन्द्रलालपुर १ सिरहामा रहेको सगरमाथा, आक्वा र आनन्दजल शुद्ध पानीको नाममा धमिलो र अशुद्ध पानी बेच्ने काम भइरहेको छ । सिरहा नगरपालिका ८ स्थित सगरमाथा आक्वाले आ.व. ०७१-७२ देखि नेपाल सरकारबाट पानी प्रशोधन गरी शुद्ध पिउने पानी बेच्ने ईजाजत नम्बर ५७७२ लिई हालसम्म पानी बेच्दै आइरहेको छ ।

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल अगाडि रहेको पान पसलमा सगरमाथा आक्वाको बोतलमा परालको टुक्रा र लेदो फेला परेको छ । तर सो पानी उद्योगको प्रोपराइटर मिथलेश यादवले मान्छेले मेनीवल गर्दा कहिलेकाहीं भूलवश लेदो पानीमा मिसिन आएको बताए ।

जलउत्पादन कम्पनी तथा डिस्टिबुटरहरू मान्छेको जीवनसंग खेलवाड गरिहँदा पनि अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय सिरहा, घरेलु तथा साना उधोग, लहान लगायतका निकायहरू निस्कृय भएको सिरहा उद्योग वाणिज्य संघ सिरहाका सदस्य शम्भु साहले बताए ।

यता जिल्ला प्रशासन कार्यालय सिरहाका निमित प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टराइका अनुसार आफूहरू केही दिनदेखि कार्य व्यस्तताका कारणले बजार अनुगमन गर्न नसकेको र अहिले एसईई परीक्षा चलिरहरेको हुँदा परीक्षापछि अनुगमन गर्ने बताएका छन् ।

त्यस्तै, केही दिन अगाडि सिरहा चन्द्रलालपुर १ सिरहामा रहेको आनन्दजलको पानीमा मिर्चैयास्थित रहेका राहुल होटल एण्ड गेस्ट हाउसमा दुईवटा बोतलमा फोहर फेला परेको थियो ।

shares