भक्तपुरका ३ नगरमा मतगणना सुरु, चाँगुमा भने विवाद

भक्तपुर, १ जेठ । भक्तपुरका तीन नगरपालिकामा मतगणना भइरहँदा चाँगुनारायण नगरपालिकामा भने विवादका कारण मतगणना हुन सकिरहेको छैन ।

सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा मतगणना बिहान १० बजेबाट सुरु भएको हो । चाँगुनारायण नगरपालिकामा भने विवादका कारण मतगणनामा सुरु हुन नसकेको हो । मादल चिन्ह नभएको मतपत्र वितरण गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले विरोध गरेपछि त्यहाँ गणना हुन नसकेको हो । नेमकिपाले आफ्नो चुनाव चिन्ह नभएको मतपत्र वितरण गरेको र त्यसमा २२ मत परेकाले बदर गर्न माग गर्दै गणना हुन दिएको छैन ।

तर अरु राजनीतिक पार्टीले भने परेको मत बदर गर्न नहुने भन्दै अडान लिएका छन् । यस विषयमा दलीय सहमति हुन नसकेपछि दलहरुबीच अब निर्वाचन आयोगले जे निर्णय गर्दछ त्यसैलाई मान्ने सहमति भएको एक स्रोतले जनाएको छ ।