शिक्षा ऐन नवौं संशोधन विधेयक खारेजीको माग गर्दै नेविसंघ अान्दोलनमा

काठमाण्डौ, १२ चैत्र । शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै कांग्रेस निकट भातृसंगठन नेविसंघ आन्दोलनमा उत्रिएको छ ।

शिक्षा ऐन नवौं संशोधन अन्यायपूर्ण रहेको भन्दै नेविसंघले सोमबार काठमाण्डौमा माइतिघरमा विरोध प्रर्दशन गरेको हो । नेविसंघले संशोधनअनुसार शिक्षा विभागले अस्थायी शिक्षकलाई स्थायी गर्न लिन लागेको परीक्षासमेत स्थगन गर्न माग गरेको छ ।

नेविसंघ आवद्ध विद्यार्थीहरूले शिक्षा क्षेत्रलाई हस्तक्षेपमुक्त गरिनुपर्ने, वैज्ञानिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, शिक्षा सेवा आयोगको खुल्ला विज्ञापन गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।

नेविसंघ महामन्त्री कुन्दन काफ्लेले परीक्षामा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएकाले आफूहरूले विरोध गरेको बताए । उनले अस्थायी शिक्षकलाई स्थायी गर्न लिन लागेको परीक्षा तत्काल स्थगन गर्न माग गरे ।

नेविसंघले विरोधस्वरुप माइतिघर मण्डलामा आमरण अनशन सुरु गरेको छ । तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा शिक्षा ऐन २०२८ मा नवौं संशोधन भएको थियो । सोही संशोधनअनुसार शिक्षा विभागले अस्थायी शिक्षकलाई स्थायी गर्न परीक्षा सञ्चालनको तयारी गरेको छ ।