सूर्तिजन्य पदार्थ बोकेर स्वास्थ्य मन्त्रालयको गेटबाट छिर्न नपाइने

काठमाण्डौ, १२ चैत्र । सूर्तिजन्य पदार्थ बोकेर स्वास्थ्य मन्त्रालयको गेटबाट छिर्न समेत नपाइने भएको छ ।

स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो नियम ल्याउन लागेको जानकारी दिइन् । मदिरा र सूर्ति नियन्त्रणको नियम भएपनि कार्यान्वयन नभएकोतर्फ संकेत गर्दै उनले मन्त्रालयबाट यसको सुरुवात गर्ने बताइन् ।

मन्त्री अर्यालले संघीय संरचनामा जाँदा स्वास्थ्य क्षेत्रलाई महत्व दिने विषयमा आफू गम्भीर रहेको बताउँदै स्वास्थ्यका विषयमा जनप्रतिनिधिहरूलाई बुझाउन जरुरी रहेको धारणा राखिन् । पहिलो चरणमा प्रदेश स्तरका सामाजिक विकास मन्त्रीलाई स्वास्थ्यका विषयमा स्पष्ट नीति लिन निर्देशन गरिने बताइन् ।

स्वास्थ्य मन्त्रालयले अझै क्याबिनेट मन्त्री प्राप्त गरिसकेको छैन । स्वास्थ्य राज्यमन्त्री अर्याल पनि सोही मन्त्रालयमा निरन्तर हुने विषयमा आशंका उत्पन्न भइरहेको छ । पत्रकारका सोही जिज्ञासाको उत्तर दिँदै राज्यमन्त्री अर्यालले आफू दिन गनेर काममा लागेको बताइन् । जुन मन्त्रालय पुगेपनि काम गर्नकै लागि मन्त्री बनेको पनि उनले बताइन् ।