गोली प्रहार गर्ने समूह प्रहरीद्वारा सार्वजनिक

नरेश के.सी./भैरहवा, १२ चैत्र । सिद्धार्थ उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य हरिश सेठियामाथि गोली प्रहार गर्ने समूहलाई पक्राउ गरी रुपन्देही प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतनवा बस्ने ४६ वर्षीय रमजान मुसलमान, सोही स्थानका ३० वर्षीय मन्जुर मुसलमान, सिद्धार्थनगर ६ निवासी २४ वर्षीय कलाम भन्ने नजाबुद्धिन मुसलमान, भारत नौतनवा बस्ने २७ वर्षीय सद्धाम भन्ने मोहमद अफजल रहेका छन् । भारत नौतनवाकै अजय जयसवाल भने फरार छन् ।

ब्यवसायी सेठियालाई फागुन १ गते पहिलो पटक र दोस्रो पटक फागुन २८ गते गोली प्रहार भएको थियो । पहिलो पटक प्रहार भएको गोलीको छर्रा सेठियालाई लागेपनि सुरक्षित रहेका थिए भने दोस्रो पटक हानिएको गोली सेठियालाई लागेको थिएन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले आर्थिक लेनदेनका कारण गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

यसैबीच गोली प्रहारको घटनामा अनुसन्धानको घेरामा रहेका भैरहवाका मोहन बानियाँलाई भने प्रहरीले निर्दोष देखिएकोले कानुनी प्रक्रिया मिलाएर छाड्ने जनाएको छ । उनी केही दिनदेखि प्रहरी हिरासतमा छन् ।

गोली प्रहार काण्डको मुख्य जड हुण्डीको कारोबार रहेको बुझिएको छ ।