आँखा अस्पताललाई प्राथमिक उपचार सामग्री सहयोग

काठमाण्डौ, १२ चैत्र । सेन्ट जोन एशोसियसन नेपालले नेपाल आँखा अस्पताललाई प्राथमिक उपचार तालिमका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ ।

सोमबार काठमाण्डौमा एक कार्यक्रम गरी आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई आँखाको उपचारका लागि प्रयोग हुने आवश्यक सामाग्रीहरू हस्तान्तरण गरेको हो । संस्थाले ५० जना भन्दा बढी स्वास्थ्यकर्मीहरूलाई आँखाको प्राथमिक उपचारका लागि आवश्यक तालिम पनि दिएको थियो ।

तालिममा विपद् व्यवस्थापनका विषयमा पनि प्रशिक्षण दिइएको र संस्थाले अस्पताललाई आवश्यक सामाग्री पनि हस्तान्तरण गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत घलेले जानकारी दिए ।

सेन्ट जोन संस्थाले विभिन्न देशमा आँखाको प्राथमिक उपचारमा सहयोग गर्दै आएको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको आँखा अस्पताल नेपालकै पुरानो आँखा अस्पतालमध्येको हो । यस अस्पतालमा दैनिक सयौंको संख्यामा बिरामीले सेवा लिने गर्छन् ।