सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै गृहमन्त्रीलार्इ ज्ञापनपत्र

काठमाण्डौ, १२ चैत्र । सरकारी स्वामित्वको जग्गालाई केही ब्यक्तिहरूको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरी खरिद बिक्री गरिएको भन्दै सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण सघर्ष समितिले गृहमन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

मालपोत कार्यालय डिल्लीबजारले ललिता निवास बालुवाटारको १ सय १२ रोपनी जग्गा सुनिती राणा, रुक्म शम्शेर जबरासमेतका नाममा गैरकानूनी रूपमा दर्ता गरेको भन्दै जग्गाको दर्ता खारेज गर्न समितिले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको हो ।

सरकारी सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिका अध्यक्ष अर्जुन बासुले बुझाएको ज्ञापन पत्रमा ललिता निवास वालुवाटारमा सुवर्ण सम्शेर र निजका छोरा कञ्चन सम्शेरको अंश भाग १४ रोपनी ११ आना मात्र जफत भएको बाँकी २८४ रोपनी १४ आना ३ पैसा जग्गा र सो मा बनेका घर सबैको मुआब्जा सम्बन्धित व्यक्तिहरूले प्राप्त गरिसकेपछि उक्त जग्गाको साविक लगत २०२२ साल देखि नै सरकारले खारेज गरिदिएको उल्लेख छ । अध्यक्ष बासुले सरकारी तथा सार्वजनिक जग्गाहरूको संरक्षण र सम्बर्द्धनलाई समेत जोड दिनुपर्ने भन्दै ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

तत्कालीन पञ्चायत सरकारले २०२१ सालमा ६ वटा दरबारहरू महावीर भवन नक्साल (हाल प्रहरी हेडक्वाटर), सीता भवन (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग), हरिहर भवन पुल्चोक, लक्ष्मी निवास महराजगन्ज (हाल भैरबनाथ गण र शीतलनिवास), बबरमहल र ललिता निवास बालुवाटार गरी करिब १ हजार ४ सय रोपनी जग्गा अधिग्रण गरेको थियो ।

समितिले भूमिसुधार कार्यालय काठमाडौंमा विचाराधीन हदवन्दी छानबिन गरी कारबाही अगाडि बढाउन आदेश जारी गर्न पनि माग गरको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले थप अध्ययन गरी यस विषयमा आवश्यक निर्णय लिइने जानकारी दिए ।