Breaking News

सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश संसदमा पेश

काठमाण्डौ, १२ चैत्र । “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ संसदमा पेश भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उक्त अध्यादेश पेश गरेका हुन् । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसद रवीन्द्र अधिकारीको सट्टामा रामवीर मानन्धरलाई राखिएको छ ।

सभामुख महराले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सदस्यको नाम हेरफेरका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो । बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने जानकारी दिए ।

प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते भएको थियो । दुवै सदनको पहिलो बैठक छुट्टाछट्टै रूपमा गत फागुन २१ गते बसेकाे थियो ।

shares