संसद बैठकमा ईयूको वक्तव्यप्रति दलहरूको राय बाझियो

काठमाण्डौ, १२ चैत्र । प्रमुख राजनीतिक दलले नेपालको निर्वाचन पर्यवेक्षणसम्बन्धी युरोपेली युनियन (ईयू)को प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले ईयूले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै सच्याउनसमेत माग गरेका छन् ।

बैठकको विशेष समयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले ईयूको प्रतिवेदन नेपालको संविधान विपरीत भएको बताए । सो प्रतिवेदन सच्चाउन सरकारले दिएको निर्देशनको स्वागत गर्दै रावलले संसदले पनि निर्देशन दिनुपर्ने धारणा राखे ।

त्यस्तै माओवादी केन्द्रका देवेन्द्र पौडेलले नेपालको आन्तरिक मामिलालाई प्रभावित गर्ने गरी आएको ईयूको वक्तव्य आपत्तिपूर्ण रहेको उल्लेख गरे । पौडेलले निर्वाचन पर्यवेक्षण मिसनको नाममा आएको ईयूको वक्तव्यप्रति घोर निन्दा प्रकट गर्ने बताए ।

बैठकमा मधेसकेन्द्रित दलका प्रतिनिधिहरूले भने ईयूको प्रतिवेदन हस्तक्षेप नभएको जिकिर गरे । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले लोकतन्त्र र मानवअधिकारको विषयमा मानवअधिकारप्रेमी कुनै पनि देशले बोल्न सक्ने बताए । संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले स्वतन्त्र राष्ट्रमाथि कसैको हस्तक्षेप स्वीकार्य नभए पनि लोकतन्त्र र मानव अधिकारको विषयमा ईयू बोल्नु अस्वभाविक नभएको धारणा राखे ।

उनीहरूले ईयूको प्रतिवेदनलाई स्वभाविक रूपमा लिन आग्रह पनि गरेका छन् । बैठकमा सांसदहरू अन्य समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।