तरार्इका ७ जिल्लामा बाढीपीडित सहयोग कार्यक्रम सम्पन्न

काठमाण्डौ, १२ चैत्र । बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रमबाट ३१ हजार ८ सय परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चीन सरकारको सहयोगमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्य, सरसफाइ, सुधारिएको चुलो र ओढ्ने ओछ्याउने सामग्रीसहितको प्याकेज वितरण गरिएको थियो ।

बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रमको सोमबार काठमाण्डौमा समापन गर्दै नेपालका लागि चीनका राजदूत यु होङले सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ फेब्रुअरीसम्म तीन महिनाको अवधिमा बाढीपीडितको पहिचानदेखि राहत सामग्री वितरणसम्मको कार्य गरिएको जानकारी दिइन् ।

समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत यु होङ र युुएनडीपीका राष्ट्रिय निर्देशक रेनउ मेयरले कार्यक्रम सम्पन्न भएको पत्र आदानप्रदान गरेका थिए । चीनका राजदूत यु होङले विपद व्यवस्थापनका लागि आयोजना गरिएको कार्यक्रमले बाढीपीडित लाभान्वित भएको भन्दै सहयोग कार्यक्रम सफल भएको बताइन् ।

यस वर्षको वर्षायाममा बाढीबाट तराईका १८ जिल्लाका १ सय ३४ जनाको मृत्यु भएको थियो भने झण्डै दुई लाख घरमा क्षति हुँदा करिब १७ लाख बासिन्दा प्रत्यक्ष प्रभावित बनेका थिए ।