राष्ट्रपति भण्डारीले चैत्र १५ गते संघीय संसदमा सम्बोधन गर्ने

काठमाण्डौ, १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले चैत्र १५ गते संघीय संसदमा सम्बोधन गर्ने भएकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।

बैठकले निर्वाचनका समयमा बम विष्फोटनमा घाइते भएका र महिला हिंसामा परेका व्यक्तिहरूको उपचारका क्रममा अस्पतालमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै बैठकले घर बहालमा दोहोरो कर नलगाउने, रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने निर्णय गरेको छ भने रक्षा मन्त्रालयको प्रस्तावमा नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्ने निर्णय गरेको बास्कोटाले जानकारी दिए ।

बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा राज्यमन्त्री सरहको सुविधा र हैसियत प्रदान गर्ने गरी बाराका अच्युत मैनाली र प्रेस सल्लाहकारमा विशिष्ट श्रेणीको सुविधा र हैसियत प्रदान गर्ने गरी डाक्टर कुन्दन अर्याललाई नियुक्त गरिएको छ ।