Breaking News

विवादरहित बन्दै ईशनाथ नगरपालिका

रौतहट, १२ चैत्र । रौतहट जिल्लामा रहेको १८ वटा स्थानीय तहहरूमध्ये ईशनाथ नगरपालिका वर्तमान अवस्थामा अरु स्थानीय तहभन्दा सहज र विवादरहित वातावरणमा संचालन भइरहेको पाइएको छ । ईशनाथ नगरपालिकाबाहेक रौतहट जिल्लामा रहेका अन्य स्थानीय तहमा कुनै न कुनै विवाद तथा प्राविधिक समस्याहरू देखापरेपनि ईशनाथ नगरपालिकामा आपसी तालमेलको वातावरण राम्रो रहेको हुँदा त्यहाबाट संचालन हुने सबै किसिमका सेवा सुविधाहरू चुस्त दुरुस्त तरिकाबाट संचालन भइरहेको पाइएको छ ।

देशैभरि पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको अन्य जिल्लाहरूमा दोस्रो नगरपरिषदहरू हुने क्रम चलिरहेको बेला रौतहट जिल्लाको ३ वटा स्थानीय तहले हालसम्म परिषद गर्न सकेको छैन भने ईशनाथ नगरपालिकाले रौतहट जिल्लाको दोस्रो परिषद सम्पन्न नगरपालिका भएको थियो । परिषद समपन्न नहुने स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधिहरूबीच आपसी तालमेल राम्रो नरहेकोले समस्या भइरहेको देखिएको छ ।

ईशनाथ नगरपालिकामा एउटै दलको बहुमत नभएपनि सो नगरपालिकाका मेयर सन्तोष मेहताको सरल र समान व्यवहारले गर्दा अन्य दलका जनप्रतिनिधिहरूले पनि विकासका काममा हातेमालो गरेर अगाडि बढिरहेको हेर्न सकिन्छ । अन्य नगरपालिकाको तुलनामा ईशनाथ नगरपालिका विवादरहित हुनुमा सो नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीको भूमिका पनि उल्लेखनीय रहेको छ ।

विभिन्न स्थानमा काम गर्दै रौतहट जिल्लासम्म आएको जोशीको अनुभवका कारण पनि ईशनाथ नगरपालिका विवादरहित बनेको छ । सो नगरपालिकालाई सुव्यवस्थित बनाउन जोशीको प्रयासमा दक्ष एवं कुशल कर्मचारी व्यवस्थापन लगायत गुणस्तरीय ढंगबाट योजना संचालन हुनु पनि प्रमुख कारण रहेको स्थानीयको भनाइ रहेको छ । यसरी रौतहटका पुरानो नगरपालिकाहरुको तुलनामा ईशनाथ नगरपालिका नयाँ नगरपालिका भएपनि व्यवस्थित तरिकाबाट संचालन भएको हेर्दा अन्य नगरपालिकाका मेयरहरूबीच सो नगरपालिका चर्चाको विषय बनेको छ ।

shares