वाम कार्यदलले चैत्र १४ गते मस्यौदा प्रतिवेदन टुङ्गो लगाउने

काठमाण्डौ, ११ चैत्र । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले चैत्र १४ गते मस्यौदा प्रतिवेदन टुङ्गो लगाउने भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको कार्यदल बैठकले मस्यौदा प्रस्तावलाई चैत्र १४ गते अन्तिम रूप दिने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि मात्र पारित गर्ने निर्णय गरेको हो ।

कार्यदल अन्तर्गतको उपसमितिले बिहीबार कार्यदलमा प्रतिवेदन बुझाएको र सोही प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरिएको नेता श्रेष्ठको भनाइ छ ।

पार्टी एकता संयोजन समितिले फागुन ७ गते १५ दिनको कार्यावधिसहित माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल गठन गरेको थियो भने समयमा नै प्रतिवेदन तयार भएपछि फागुन २५ गते कार्यदलको समयसीमा चैत ५ गतेसम्म थप गरिएको थियो ।

तर, सकिएको समयसीमामा पनि अन्तिम प्रतिवेदन भने तयार हुन सकेन । नेता श्रेष्ठले २०७४ वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको घोषणा गर्ने दुबै दलको तयारी भएपनि त्यो भन्दा अघि पनि एकता हुन सक्ने बताए ।