Breaking News

गाईको मासु सेवन गर्न पाउनुपर्ने धारणा तत्काल फिर्ता लिन माग

काठमाण्डौ, ११ चैत्र । विश्वहिन्दू महासंघले गाईको मासु सेवन गर्न पाउनुपर्ने धारणा तत्काल फिर्ता लिन प्रदेश ३ की उपसभामुख राधिका तामाङसँग माग गरेको छ ।

विश्वहिन्दू महासंघको ३८ औं स्थापना तथा हिन्दू एकता दिवसका अवसरमा आइतबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा महासंघकी महासचिव अस्मिता भण्डारीले राज्यको महत्वपूर्ण पदमा बसेर गाईको मासु सेवन गर्न पाउनुपर्ने धारणा राखेको भन्दै उक्त भनाइ तत्काल फिर्ता लिन माग गरिन् ।

भण्डारीले उपसभामुखको उक्त भनाइ आपत्तीजनक भएको भन्दै यसले सम्पूर्ण हिन्दूहरूको आस्थामा ठेस पुगेको समेत बताइन् । उपसभामुखको भनाइलाई केन्द्रीय गृहमन्त्रीले समर्थन गर्दै कानून बनाउने प्रतिबद्धता जनाएको भन्दै उनले यसले संसारभरका हिन्दूको आस्थामा चोट पुगेको उल्लेख गरिन् ।

यता प्रदेश ३ की उपसभामुख राधिका तामाङले भने आफ्नो भनाइलाई अतिरञ्जित पारिएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले नुवाकोटका केही नेताहरूले नियतवश यो प्रसंगलाई उचालिरहेको समेत बताइन् ।

shares