सेतो मत्स्येन्द्रनाथको रथ यात्रा अाजबाट सुरु

काठमाण्डौ, ११ चैत्र । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन सुरु हुने सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा आइतबारदेखि सुरु भएको छ ।

आइतबार अष्टमी तथा नवमी दुवै परेकाले अष्टमीको तिथि पारेर रथ यात्रा सुरु गरिएको हो । तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म लगिन्छ ।

चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ । मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ ।

यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।