गाउँपालिकाको कार्यालय सारिएकोमा स्थानीयबासीको विरोध

काठमाण्डौ, ११ चैत्र । पर्सा जिल्ला ठोरी गाउँपालिकाको कार्यालय सारिएकोमा स्थानीयबासीले विरोध गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ठोरी सुवर्णपुर संघर्ष समितिले विरोध गरेको हो ।

राज्य पुनसंरचना आयोगद्धारा नै सुवर्णपुर स्थापना गरी सेवा दिंदै आएकोमा हाल आएर घ्याङ डाँडामा ठोरी गाउँपालिकाको कार्यालय सेवा केन्द्र सार्ने प्रयत्न गरिएको भन्दै समितिले त्यसको विरोध गरेको हो । उक्त निर्णयको विरुद्ध ठोरी सुवर्णपुर संघर्ष समिति गठन गरी यथास्थानमा गाउँपालिका कार्यालय स्थापना गरियोस् भनी संघर्ष समितिले संघर्षका कार्यक्रम अगाडि सार्दै संघर्ष गर्दै आइरहेको छ ।

पत्रकार सम्मेलन गर्दै सघर्ष समितिका अध्यक्ष जरी लामाले गाउँपालिका अध्यक्षले अवैधानिक ढंगले गाउँसभा राखेर कार्यालय सार्ने निर्णय गराएको आरोप लगाए । उक्त निर्णय तत्काल फिर्ता लिई जनतासँग माफी नमागेसम्म संघर्ष नरोकिने लामाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुवर्णपुर काठमाण्डौ संघर्ष समन्वय समितिका संयोजक खड्ग श्रेष्ठले जनताको लोकतान्त्रिक अधिकारको हनन गर्दै अधिनायकवाद लाद्ने काम गाउँपालिका अध्यक्षले गरेको आरोप लगाए । संघर्ष समितिले निर्णय नसच्याएसम्म अनिश्चितकालीन रूपमा गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।