अन्तरिम आदेशपछि एन्फाको निर्वाचन स्थगित

ललितपुर, ११ चैत्र । अखिल नेपाल फुटवल संघ एन्फाको यही १४ गतेका लागि तय भएको साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।

एन्फाको निर्वाचन समितिले आज विज्ञप्ति जारी गरी पाटन उच्च अदालतले मकवानपुर जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटबल संघका गौतम सुजखुले दिएको रिटमा यसअघि दिएको अन्तरिम आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरिएको जनाएको छ ।

उच्च अदालत पाटनले गत बिहीबार निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन समितिले नयाँ निर्वाचन तालिकाका बारेमा भने केही उल्लेख गरेको छैन । त्यस्तै एन्फाले गत शुक्रबार पठाएको विवरणका आधारमा निर्वाचन स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसबीचमा एन्फाले फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफा र ए.एफ.सीलाई पठाएको पत्रका बारेमा भने विज्ञप्तिमा केही उल्लेख छैन । फिफाले तोकिएको समयमै निर्वाचन नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र एन्फालाई पठाइसकेको छ ।