त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु: मन्त्री अधिकारी

काठमाण्डौ, चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने बताएका हुन् । उनले संचालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे ।

विमानस्थल संचालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाइ छ । “काठमाण्डौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ ।” उनले भने ।

नेपालको हवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिंदै मन्त्री अधिकारीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने बताए । विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिंदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने बताए ।

आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगंज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सचालन गर्ने योजना आफूसँग रहेको उनले बताए । हवाई दुर्घटना बढेकोबारे पत्रकारको प्रश्नको जवाफ दिंदै मन्त्री अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने बताए । त्यसका साथै दुर्घटनाबारे छुट्टै अध्ययन गरेर कमी कमजोरी हटाइने उनको भनाइ छ ।

पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको स्तरउन्नति आवश्यक रहेको औँल्याउँदै उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्याउन सक्ने गरी काम गर्ने बताए । सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए । एक वर्षभित्रमा ९० प्रतिशत सम्पदा पुनः निर्माण सक्ने दाबी उनले गरे । त्यस्तै, उनले राष्ट्रिय संग्रहालय छाउनी र नारायणहिटी दरबार सग्रहालयलाई पनि व्यवस्थित गरिने बताएका छन् ।

नेपाल वायु सेवा निगमलाई पनि व्यवस्थित बनाउनका लागि अध्ययन भइरहेको उनले बताएका छन् । निगममा आवश्यकताभन्दा धेरै कर्मचारी रहेको पाइएको भन्दै उनले भएका कर्मचारीको व्यवस्थापनका लागि सेवा व्यवस्थित बनाउने बताए । “निगममा १८ सय कर्मचारीले ३ जहाज चलाएर बसेका छन् । कतिपय देशमा १८ सय कर्मचारीले १८ वटा ठूला जहाज चलाएका छन् । हामी पनि त्यस्तै सुधार गर्छौँ ।” उनले भने ।

अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिङका बारेमा आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने दाबी गरे ।अहिले आफू कार्ययोजना बनाउनमा व्यस्त रहेको जानकारी दिदै अधिकारीले केही दिनभित्रमा नै आफूले गर्ने कामको क्यालेण्डर सार्वजनिक गर्ने बताए ।

एमालेका नेतासमेत रहेका अधिकारीले जनताले अब छिटै सुखद समाचार सुन्न पाउने बताउँदै पार्टी एकता हुने निश्चित भइसकेको दाबी गरे । उनले भने, “कम्युनिष्ट पार्टी स्थापना दिवस अप्रिल २२ तारिखमा एमाले र माओवादीबिच एकता घोषणा हुन्छ । सबै तयारी पूरा भएको छ ।”