प्रधानमन्त्रीले दिए ईयूलार्इ कडा चेतावनी

काठमाण्डौ, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान, सामाजिक प्रबन्ध र उपलब्धीलाई अवमूल्यन नगर्न वाह्य समुदायलाई चेतावनी दिएका छन् ।

आइतबार काठमाण्डौमा नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपाली सार्वभौमिकतामाथि धावा नबोल्न सचेत गराएका हुन् । युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यलाई समानुपातिक प्रतिनिधित्वको ब्यवस्थाबाट हटाउन सुझाव दिएपछि प्रधानमन्त्रीको यो भनाइ आएको हो ।

ईयूको नाममा सामाजिक प्रबन्ध, संविधान र उपलब्धीहरूलाई अण्डरमाइन गर्ने काम नगर्न चेतावनी दिंदै ईयूलाई प्रतिवेदन सच्याउन पुनः आग्रह गरे । ईयूको प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट नै परराष्ट्र मन्त्रालयले कडा आपत्ती जनाउँदै प्रतिवेदन सच्याउन आग्रह गरेको थियो ।

तर ईयूले प्रतिवेदन सच्याउनुको साटो उल्टै आफ्नो प्रतिवेदनमा उपयुक्त रहेको र सुझाव मान्ने वा नमान्ने अधिकार नेपाल सरकारको रहेको बताएको थियो । निर्वाचन पर्यवेक्षण गर्न आएको ईयूका केही सदस्य धर्मको प्रचारमा लागेको खुलेपछि तिनलाई फिर्ता गरिएको प्रतिशोध प्रतिवेदनमा सांधिएको भन्दै त्यो अनुचित भएको उनले बताए ।

संविधान नेपालको उपलब्धी भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई अवमूल्यन नगर्न चेतावनी दिए । उनले निर्वाचन गराएकोमा राष्ट्रपति र अदालतलाई धन्यवाद दिए । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ रहेको भन्दै उनले निर्वाचनमार्फत् प्रतिनिधित्वको न्यायोचित प्रणाली सुदृढ भएको धारणा पनि राखे ।