प्रदेश–१: मन्त्री घिमिरेलार्इ लक्षित गरी बम प्रहार

सुनसरी, ११ चैत्र । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे सवार गाडीलार्इ लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ ।

विराटनगरबाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक आइतबार बिहान बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए । बम प्रहार भएपनि मन्त्री घिमिरे सकुशल रहेको जनाइएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित पथरीको हरियाली सामुदायिक वन नजिकैको सडकमा मन्त्री घिमिरे पुगेपछि सुतली बम विस्फोट गराइएको थियो । बम प्रहार गरेर फरार युवाहरूको खोजी भइरहको प्रहरीले जनाएको छ ।

विप्लव माओवादीले उक्त बम विस्फोट गराएको हुनसक्ने प्रहरीले अाशंका गरेको छ । बन्द आह्वान गरेको भनिएपनि सुनसरी र मोरङमा बन्दको प्रभाव भने परेको छैन । जनजीवन सामान्य रूपमा चलिरहेको छ ।