अाज रामनवमी पर्व अधिराज्यभर मनाइँदै

काठमाण्डौ, ११ चैत्र । आज रामनवमी पर्व, श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइँदैछ ।

हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । रामनवमीका अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थीत राममन्दिरलगायत अन्य मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरूमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

यसैबीच, जनकपुरमा पनि राम नवमीको अवसरमा जानकी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।