Breaking News

लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकता दिइने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

२९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको शुक्रबार काठमाण्डौको भृकुटि मण्डपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउनका लागि आफू संकल्पित रहेको भन्दै अब मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उद्योगी तथा व्यवसायीको मनोबल कमजोर हुन नदिने बताउँदै उनले आ-आफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रबर्द्धन गरेर अगाडि बढिने स्पष्ट पारे ।

सरकार नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै प्रधामन्त्री ओलीले काठमाडौँ उपत्यकामा रेल र २०७६ साल सम्ममा नेपालको पानी जहाज समुद्रमा चलाएर देखाउने धारणा राखे । उनले गरेरै देखाउने भन्दै आफ्ना प्रतिबद्धतालाई समान्य रूपमा नलिनसमेत आग्रह गरे ।

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा सुरु प्रर्दशनी १३ गतेसम्म चल्ने छ । प्रदर्शनीमा ७७ जिल्लाका उद्यमीका तीन सय स्टल रहेका छन् । प्रर्दनीको करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र रू आठ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

समितिले २०४२ सालदेखि राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिंदै आएकोे जनाएको छ ।

shares