Breaking News

सडक नबनाएको भन्दै स्थानीयले सुरु गरे अान्दोलन

ललितपुर, ९ चैत्र । ललितपुरको चापागाउँ दोबाटो–खुमलटारको सडक नबनाएको भन्दै स्थानीय बासिन्दाले उक्त सडक बन्द गरेर आन्दोलन सुरु गरेका छन् ।

करिब १८ महिनादेखि धुलैधुलोमा बस्न बाध्य भएको भन्दै स्थानीयले आफुहरू सम्पूर्ण सरकारी निकाय र मन्त्रालयसमेत धाउँदा पनि आश्वासन मात्रै दिएको र काम गर्न सुरु नै नगरेको भन्दै अब काम सुरु नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

पटक–पटक उक्त सडकखण्ड बनाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गर्दा पनि सडक निर्माण कार्य पूरा नभएको भन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेको संघर्ष समितिले जनाएको छ ।

धेरै अघिदेखि सम्बन्धित निकायलाई लिखित तथा मौखिक रूपमा सडको विस्तार तथा मर्मतको लागि अनुरोध गर्दा पनि सडक सुधारको लागि कसैले चासो नै नदेखाएपछि स्थानीय जनप्रतिनिधि,व्यापारी र स्थानीयको पहलमा सडकमा टेन्ट नै हालेर बसेका छन् ।

सडक नै बन्द भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत अन्य सडक हुँदै निवास जाने गरेका छन् । ललितपुर महानगरपालिका वडा नं १५ का वडाअध्यक्ष सुदर्शन मिश्रले स्थानीयको आन्दोलनलाई समर्थन गर्दै सडक निर्माण नभएसम्म आन्दोलन जारी रहने बताए ।

उक्त बाटो बन्द भएपछि लगनखेल सातदोबाटो हुँदै चापागाउँ लेलेसम्म चल्ने सार्वजनिक तथा सबै निजी सवारी साधनहरू धापाखेल तथा नखिपोटको बाटो हुँदै सन्चालन भएका छन् ।

shares