कृषिजन्य वस्तुमा विषादी प्रयोग रोकेरै छोड्ने मन्त्री खनालको दाबी

काठमाण्डौ, ९ चैत्र । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि सरकारले विशेष व्यवस्था गर्न लागेको जनाएका छन् ।

काठमाण्डौमा शुक्रबारदेखि सुरु भएको तेस्रो खाद्य मेलाको उद्घाटन गर्दै मन्त्री खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादीले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहको भन्दै यसलाई रोकेरै छाड्ने बताए । खाद्यमा मिसावट गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न कानून बनाएर नियमन गरिने उनको भनाइ छ ।

करिब ९५ प्रतिशत पसलले मापदण्ड पूरा नगरेको भन्दै कानूनको अभावमा अनुमतिपत्र खारेज गर्न नसकिएको उनले बताए । त्यस्तै मन्त्री खनालले गरिबीको रेखामुनि रहेका जिल्लाहरूको पहिचान गर्दै कृषिजन्य उत्पादनलाई वृद्धि गर्न विशेष लगानी गर्नुपर्ने धारणा राखे ।

स्थानीय र अल्पप्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार-प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । मेला आइतबारसम्म चल्ने बताइएको छ ।

आयोजकका अनुसार मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरूबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरी ७८ स्टल सहभागी छन् ।