‘मन्त्री पण्डितका हुकुमी अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ’

काठमाण्डौ, ९ चैत्र । आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरूका नेताहरूले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरे । केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर र अन्य समस्यामा परेर नगएको भएपनि अधिकांश कर्मचारीहरू खटाइएको स्थानमा गएर काम गरिहरेको उनको भनाइ थियो ।

त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले स्वेच्छिक अवकासको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरे । संविधान र ऐनमा भएको व्यवस्थालाई भाषणमा बोलेर हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिने काम भएको भन्दै जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहरूलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकार हुनुपर्ने धारणा राखे ।

त्यस्तै कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निरासा छाएको गुनासो पोखे । साक्षात्कारमा मधेसी निजामति कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले समृद्ध नेपाल निमार्णमा कर्मचारीको ठूलो भूमिका रहने बताउँदै सरकारले उचित किसिमको काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।