Breaking News

ईयूको सुझावबारे परराष्ट्र मन्त्रालयको विज्ञप्ति अपरिपक्वताको नमूना: यादव

रौतहट, ९ चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यूरोपियन यूनियनको निर्वाचन पर्यवेक्षण मिसनको सुझावलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।

शुक्रबार रौतहटको गौरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको पाँच दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले ईयूको सुझावलाई लिएर परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अपरिपक्वताको नमूना भएको दाबी गरे ।

यादवले यूरोपियन यूनियनले भनेको कुरा सुझावका रूपमा लिएर अगाडि बढनुपर्ने बताए । ईयूको निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनका विषयमा परराष्ट्र मन्त्रालयले हतासमा विज्ञप्ति निकाल्नु गलत भएको पनि यादवले बताए ।

फरक प्रसंगमा अध्यक्ष यादवले आफूहरू सरकारमा सामेल नभए पनि समर्थन दिइसकेको बताए । संविधान संसोधन लगायतका मुद्दाहरू समाधानका लागि सरकार अगाडि बढे सहकार्यका लागि आफूहरू तयार रहेको उनको भनाइ छ ।

उनले मुलुकमा भएको परिवर्तनलाई संस्थागत गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

shares