गत १ वर्षमा नेपालमा ३२ हजार क्षयरोगी दर्ता, ९० प्रतिशत उपचार सफल

भक्तपुर, ९ चैत्र । ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस शनिबार नेपालमा पनि मनाइने भएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रले शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै हरेक वर्ष मार्च २४ का दिन मनाउँदै आएको विश्व क्षयरोग दिवस जनचेतनामुलक कार्यक्रमका साथ नेपालमा पनि मनाउन लागिएको जानकारी दिएको हो ।

राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका निर्देशक डाक्टर केदार नरसिंह केसीले गत आर्थिक वर्ष २०७३-७४ को एक वर्षको अवधिमा नेपालमा ३१ हजार सात सय ६४ जना क्षयरोगी नेपाल सरकारको डट्स उपचार पद्धतिमा दर्ता भएको जानकारी दिए ।

एकवर्षको अवधिमा नेपालमा ९० प्रतिशत क्षयरोग निको भएको दाबी गर्दै उक्त दर विश्वमा नै सबैभन्दा राम्रो उपचारको सफलताको दर भएका बताए । ‘नियमितरूपमा औषधि सेवन गरे क्षगरोग निको हुन्छ’ भन्ने सन्देश दिन क्षयरोगबारे विद्यमान अन्धविश्वास हटाउने खालका सन्देश फैलाउन यसवर्ष पनि विविध कार्यक्रम गरेर दिवस मनाउन लागिएको निर्देशक केसीले जानकारी दिए ।