वाम कार्यदलले ३ दिनभित्र अन्तरिम राजनीतिक प्रतिवेदन टुङ्गो लगाउने

काठमाण्डौ, ९ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि गठन भएको कार्यदलले ३ दिनभित्र अन्तरिम राजनीतिक प्रतिवेदन टुङ्गो लगाउने बताएका छन् ।

शुक्रबार माओवादी केन्द्र मुख्यालय पेरिसडाँडामा संघीय समाजवादी फोरमका सचिव अजम्बर काङमाङ राईलाई पार्टी प्रवेश गराउँदै उनले कार्यदलले तीनदिन भित्र अन्तरिम राजनीतिक प्रतिवेदन टुङ्गो लगाउने र एकता बैठकले छलफल गर्दै त्यसलाई अनुमोदन गर्ने जानकारी पनि दिए ।

त्यस्तै उनले पार्टीको अन्तरिम संविधान पनि तयार भइसकेको भन्दै पार्टीको समितिको बारेमा पनि छिटै टुङ्गो लाग्ने दाबी गरे । उनले दुई पार्टीको संगठनात्मक स्वरुपका विषयमा छलफल गर्न बाँकी नै रहेको बताए । एमालेसंगको पार्टी एकता हुँदा सबै नेतालाई उचित ढंगले संगठनमा राख्ने भन्दै उनले संगठनात्मक स्वरुप मिलाउन विस्तारित बैठकसमेत बोलाइएको धारणा राखे ।

त्यस्तै उनले संविधान संशोधनबाट अपुग विषयहरू पूरा गर्न सकिने भन्दै फेरि पनि संविधान संशोधन गर्न दलहरूबीच सहमति भइसकेको बताए । कार्यक्रममा माओवादी प्रवेश गरेका अजम्बर काङमाङ राइले अब सत्तामा मात्र केन्द्रित नभई मुलुकको समस्या र विकासका लागि कम्युनिष्ट एकता महत्वपूर्ण रहेको धारणा राखे । उनले कम्युनिष्ट अभिभारालाई अघि बढाउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताए ।

माओवादी प्रवेश गरेका राई एक वर्षदेखि पार्टीमा भूमिकालाई लिएर असन्तुष्ट रहँदै आएका थिए । एमालेको भातृसंगठन प्रजातान्त्रिक युवा संघ नेपालका अध्यक्षसमेत रहिसकेका राई , अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी उपेन्द्र यादवको फोरममा विलय हुँदा केन्द्रीय सदस्यको हैसियतमा थिए । तर पछि उनले आफूलाई दिएको जिम्मेवारीमा असन्तुष्टि जनाएपछि सचिवको जिम्मेवारीमा बढुवा गरिएको थियो ।