कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: पराजयको कारण लिखित रूपमा पेश गर्न माग

काठमाण्डौ, ९ चैत्र । प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पराजयको कारणको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवाज उठेको छ ।

निर्वाचनमा कांग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा छलफल गर्न शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनमा कांग्रेस हार्नुको कारण शीर्ष तहबाट लिखित रूपमा आउनुपर्ने भन्दै महासमिति बैठकसम्म यसको समीक्षा हुनुपर्ने आवाज उठेको हो ।

बैठकमा कांग्रेस नेता प्रकाशमान सिंहले २४ बुँदे लिखित सुझाव प्रस्ताव पेश गर्दै वैचारिक एवम् सांगठनिक आधार, पार्टी नेतृत्व एवम केन्द्रीय कार्यसमिति र नेतृत्वमा रहनेहरूको क्षमता, दक्षता र कार्य कुशलता, समग्र निर्वाचनको व्यवस्थापकीय पक्ष सबैलाई एकमुष्टसँग केलाएर पार्टी पराजयको समीक्षा गर्नुपर्ने बताए ।

त्यस्तै नेता कृष्ण सिटौलाले पार्टीभित्र देखिएको असन्तुष्टी समयमा नै सम्बोधन हुन नसक्नु पनि पराजयको कारण भएको धारणा राखेका थिए । नयाँ प्रादेशीक समिति, नगर, गाउँपालिका, तदर्थसमितिमार्फत नभई निर्वाचन प्रकृयाबाटै चयन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् ।

बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरूले नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भनी आलोचना गर्ने तयारी गरेका छन् भने सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यले त्यसको बचाउ गर्ने तयारी गरेका छन् ।

यसअघि गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रूपमा यस केन्द्रीय समिति बैठकमा समीक्षा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

निर्वाचनपछि कांग्रेसको यो पाँचौँ केन्द्रीय कार्यसमिति बैठक भएपनि हालसम्मका बैठकमा निर्वाचनको परिणामका बारेमा विस्तृत समीक्षा हुन सकेको थिएन । विस्तृत छलफलका क्रममा केही दिन चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने प्रवक्ता शर्माले बताए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणाम हासिल गरेको कांग्रेस अहिले सातै प्रदेश र संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा छ । केन्द्रीय समिति बैठकले पार्टीको अबको कार्यदिशा तय गर्न गर्ने प्रवक्ता शर्माले बताए ।